हिमालयन पावर पार्टनरको ५०% हकप्रद शेयर बिक्री खुल्यो

काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडले आज (वैशाख १७ गते) देखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस प्रक्रियाअन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ५३ लाख २७ हजार ८५ कित्ता शेयर बिक्री गर्नेछ, जसको कुल मूल्य ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ रहेको छ ।

यो हकप्रद शेयरका लागि कम्पनीले गत चैत १० गते बुकक्लोज गरिसकेकाले चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । योग्य लगानीकर्ताहरूका लागि आवेदन दिने म्याद आगामी जेठ ६ गतेसम्म तोकिएको छ ।

हकप्रद निष्काशन प्रयोजनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ ।

लगानीकर्ताहरूले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरू बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुरबाट आवेदन बुझाउन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि सहजै आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेकोमा हकप्रद निष्काशन तथा बाँडफाँटपछि यो वृद्धि भई १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद शेयरमार्फत संकलन गरेको रकम मुख्यतया आफ्नो ऋण भार कम गर्न उपयोग गर्ने योजना बनाएको छ । प्राप्त जानकारी अनुसार, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरण अन्तर्गत प्राइम कमर्सियल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट लिएको ऋण भुक्तानी गर्न यो रकम प्रयोग गरिनेछ । यसले कम्पनीको वित्तीय संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै