काठमाडौँ । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्तावसहित जेठ १० गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीका अनुसार साधारण सभा बन्दीपुर केवलकार प्राङ्गण, बन्दीपुर–तनहुँमा बिहान ९ बजे आयोजना गरिनेछ । सभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव स्वीकृत गर्दै सो प्रक्रिया अघि बढाउने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिनेछ ।
त्यसैगरी,आईपीओमार्फत संकलन हुने पूँजीको उपयोगका विषयमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । कम्पनीका सञ्चालकहरूको पारिश्रमिक, बैठक भत्ता तथा अन्य सुविधा निर्धारणसम्बन्धी विषय पनि सभामार्फत टुंगो लगाइनेछ ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पनि पारित गर्नेछ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा समेत निर्णय गरिनेछ ।
पर्यटन क्षेत्रको विकास र विस्तारलाई केन्द्रमा राख्दै स्थापना गरिएको टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले पर्यटन पूर्वाधार तथा सम्बन्धित व्यवसायमा लगानीमार्फत आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य राखेको छ ।