सीडीएससीमा विवादित नियुक्तिको अन्त्य: नेप्सेले फिर्ता बोलायो कार्यकारी प्रमुख पन्दाकलाई

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा पठाइएकी प्रतिनिधि एवं कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिको पछिल्लो बैठकले पन्दाकलाई सीडीएससीको सञ्चालक र कार्यकारी जिम्मेवारीबाट मुक्त गर्दै माउ संस्था नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो ।

नियुक्ति र विवादको पृष्ठभूमि

सीडीएससीमा नेप्सेको तर्फबाट सदस्यका रूपमा प्रतिनिधित्व गर्दै आएकी पन्दाकलाई गत पुस १४ गते बसेको सञ्चालक समिति बैठकले कार्यकारी प्रमुखको जिम्मेवारी सुम्पेको थियो । २०८१ भदौ ७ गते तत्कालीन सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा पन्दाकलाई ‘अन्तरिम’ भनिए पनि दीर्घकालीन स्वरूपमा जिम्मेवारी दिइएको थियो ।

खुला प्रतिस्पर्धा नगरी गरिएको उक्त नियुक्ति सुरुदेखि नै विवादको घेरामा परेको थियो । संस्थागत सुशासनको मापदण्ड विपरीत र काजसम्बन्धी प्रावधान उल्लंघन गरेर पन्दाकलाई जिम्मेवारी दिइएको भन्दै नेप्सेभित्र र पुँजी बजारमा व्यापक आलोचना भएको थियो ।

प्रधानमन्त्री कार्यालयमा उजुरी र छानबिनको दबाब

पन्दाकको नियुक्तिविरुद्ध ‘हेलो सरकार’ मार्फत प्रधानमन्त्री कार्यालयमा समेत गम्भीर उजुरी परेको थियो । उजुरीमा राजनीतिक पहुँचको दुरुपयोग, गैरकानुनी नियुक्ति, र नेपाल धितोपत्र बोर्ड (सेबोन) का निर्देशनहरूको अवहेलना गरिएको दाबी गरिएको थियो। सोही विवाद र चौतर्फी दबाबपछि नेप्सेले उनलाई फिर्ता बोलाउने निर्णय लिएको हो ।

अबको प्रक्रिया

नेप्सेको तर्फबाट सीडीएससीको सञ्चालक समितिमा चुडामणि चापागाईं अध्यक्ष छन् भने अन्य सदस्यमा अर्थ मन्त्रालयका प्रतिनिधि र स्वतन्त्र सञ्चालकहरू रहेका छन् । पन्दाक फिर्ता भएसँगै नेप्सेले अब सीडीएससीमा नयाँ प्रतिनिधि पठाउने तयारी गरेको छ ।

लामो समयदेखि नेतृत्वविहीन रहेको सीडीएससीमा अब खुला प्रतिस्पर्धाबाटै नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै