काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार (नेप्से) परिसूचक अन्तिम समयमा सम्हालिएर हरियो अंकमा बन्द भएको छ । साताको सुरुदेखि नै ओरालो लागेको बजार शुक्रबार कारोबार अवधिभर नकारात्मक रहे पनि अन्तिम समयमा १.५४ अंकले बढ्दै २७८८.७० विन्दुमा पुगेको हो ।
यस दिन फ्लोट इण्डेक्स ०.०६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.२० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले घटेका छन् ।
कारोबार रकममा वृद्धि
बजार परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। बिहीबार ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएकोमा शुक्रबार ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार कित्ता सेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँमा खरिदबिक्री भए। दिनभरिमा कुल ७५ हजार २२९ पटक कारोबार भएको छ।
सर्किट लेभलमा तीन कम्पनी
शुक्रबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र माइ खोला हाइड्रोपावरका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन्। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य साढे १२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। घट्ने कम्पनीहरूको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कमै रह्यो।
रिडी हाइड्रोपावरको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २७ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको करिब २५ करोड र नेशनल हाइड्रोपावरको २४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।
मिश्रित उपसमूह सूचक
कारोबारमा आएका १३ उपसमूहमध्ये ६ वटाको सूचक बढ्दा ७ वटाको घटेको छ। बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह सामान्य उकालो लागेका छन्। अन्य उपसमूहको सूचक भने सर्वाधिक १.०२ प्रतिशतले घटेको छ ।