“हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, भुइँ नछोडौँ”– रास्वपा सांसद गणेश कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई ‘आफू आउँदा स्वागत गर्न किन नआएको’ भन्दै थर्काएको विषयमा सोही पार्टीका अर्का सांसद गणेश कार्कीले कडा प्रतिक्रिया दिएका छन् ।

सांसद कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नै सहकर्मीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पदको घमण्ड नगर्न आग्रह गरेका हुन् । उनले ‘माननीय’ शब्द सुन्दा पनि आफूलाई राम्रो नलाग्ने बताउँदै आवश्यक परे ‘सांसद’ मात्र भन्नु उपयुक्त हुने धारणा राखेका छन् ।

निर्वाचनका बेला जनतासँग गरेको अनुनय सम्झिँदै उनले लेखेका छन्:-

“म माननीय भनेको राम्रो सुनिन्छ र ? सुनिँदैन त। आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरु। यही सांसद पद पनि बढीमा ५ वर्ष हो। के बानी पार्नु? अनि ‘हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु! भुइँ नछोडौँ न है।”

सांसद पोखरेलले एक सार्वजनिक विद्यालयका प्रधानाध्यापकलाई आफू पूर्वविशिष्ट कर्मचारी र वर्तमान सांसद भएको भन्दै शिष्टाचार सिकाएको भिडियो भाइरल भएपछि रास्वपाभित्रै यसको आलोचना सुरु भएको हो ।

निर्वाचनपछि पहिलो पटक मतदातालाई धन्यवाद दिन खिजिदेम्बा गाउँपालिका पुगेका सांसद पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालय, पोल्थलीका प्रधानाध्यापक शान्तबहादुर मगरलाई विद्यालयकै प्राङ्गणमा थर्काएका हुन्।

सांसद गणेश कार्कीको यो प्रतिक्रियाले रास्वपाले अगाडि सारेको ‘संस्कारयुक्त राजनीति’ को बहसलाई फेरि चर्चामा ल्याइदिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै