काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई हप्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । विद्यालय भ्रमणका क्रममा आफूलाई स्वागत गर्न नआएको भन्दै उनले आक्रोश पोखेपछि अहिले उनको सर्वत्र आलोचना भइरहेको छ ।
निर्वाचनपछि पहिलो पटक मतदातालाई धन्यवाद दिन खिजिदेम्बा गाउँपालिका पुगेका सांसद पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालय, पोल्थलीका प्रधानाध्यापक शान्तबहादुर मगरलाई विद्यालयकै प्राङ्गणमा थर्काएका हुन्।
भिडियोमा सांसद पोखरेलले आफू बहालवाला सांसद र पूर्वविशिष्ट श्रेणीको कर्मचारी भएको रवाफ देखाउँदै प्रधानाध्यापकलाई थर्काएको देखिन्छ। उनले भिडियोमा भनेका छन्:- “तपाईंले म आउँदैछु भन्दा निस्किनु पर्छ ! तपाईं कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ। एउटा जिल्लाको एउटा माननीय आउँदा हेड मास्टर भित्र चुप लागेर बस्ने ?”
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा प्रधानाध्यापक मगरले आफू कार्यालयको जरुरी पत्र तयार पार्न व्यस्त रहेको स्पष्टीकरण दिइरहँदा पनि सांसद पोखरेलले पदको धाक देखाउँदै निरन्तर सातो लिएको देखिन्छ । पूर्वप्रशासक समेत रहेका पोखरेलले पदीय मर्यादा र शिष्टाचारको बेवास्ता गरेको भन्दै प्रधानाध्यापकमाथि खनिएका थिए । आफूलाई स्वागत नगरेको झोकमा प्रधानाध्यापकमाथि आक्रोश पोखेका सांसद पोखरेल आफ्ना गुनासा सुनाउन कुरिरहेका स्थानीयलाई समेत नभेटी बीचैबाट हिँडेका थिए ।
सांसद रिसाएर हिँडेपछि स्थानीय बासिन्दाहरू थप रुष्ट बनेका छन् । उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता तथा कार्यकर्ताहरूप्रति कडा आक्रोश पोखेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई मात्र ५ मतको झिनो अन्तरले पराजित गरेका पोखरेलको यो शैलीलाई लिएर अहिले चौतर्फी आलोचना सुरु भएको छ ।
सांसद पोखरेलको व्यवहार सार्वजनिक भएलगत्तै उनका निकटतम प्रतिस्पर्धी कुमार लुइँटेलले फेसबुकमार्फत कडा प्रतिक्रिया दिएका छन् । उनले पोखरेललाई राजनीतिक संस्कार सम्झाउँदै अब उनी फौजी अभ्यास गरेको निवृत्त कर्मचारी नभई जनताको सेवक भएको उल्लेख गरे।
“तपाईं अहिले हामी सबै ओखलढुङ्गे जनताको माननीय हुनुहुन्छ, राजनीतिमा आएपछि हामी सर्वदा जनताका सेवक हौँ भन्ने बुझ्नुपर्छ,” लुइँटेलले लेखेका छन्, “हाम्रा कारण कम्तीमा ओखलढुङ्गे जनताको आत्मसम्मानमा चोट लाग्नु हुन्न। विद्यालयको हेडसरसँगको संवाद पदीय मर्यादालाई पटक्कै सुहाएन।”
सांसद पोखरेलले विद्यालय प्रशासन र प्रधानाध्यापकको मर्यादाको ख्याल नगरी ‘पदको घमण्ड’ देखाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका छन्। कतिपयले रास्वपाले दाबी गर्ने ‘नयाँ राजनीति’ र ‘संस्कार’ माथि नै प्रश्न उठाएका छन् ।
भिडियो सार्वजनिक भएपछि सांसद पोखरेल वा रास्वपाले आधिकारिक रूपमा यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।