काठमाडौँ । जेनजी आन्दोलनका अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै पार्टीबाट पूर्ण रूपमा अलग्गिएको औपचारिक घोषणा गरेका छन् ।
लोकतन्त्र दिवसको पावन अवसरमा उनले जारी गरेको प्रेस वक्तव्यमा हमालले व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर पछिल्लो एक दशकदेखि सुशासन, सुसंस्कृत राजनीतिक संस्कार र स्थायित्वका लागि निरन्तर प्रयत्न गर्दै आएको उल्लेख गर्दै यो निर्णय लिएको बताएका छन् ।
उनले जेनजी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदा गोली खान तयार भएको, भाद्र २३ गते पक्राउ परेको र राजनीतिक विचारका आधारमा अवमूल्यन हुनुपरेको स्मरण गरेका छन् । निर्वाचनमा जनस्तरबाट आफ्नो राजनीतिक विचारभन्दा फरक ढङ्गले अघि बढ्न आग्रह भएको पनि उल्लेख छन् ।
‘सम्पूर्ण राष्ट्र र मेरो पुस्ताका युवाहरूको भावना, ऊर्जा, सपना तथा परिवर्तनको तीव्र चाहनालाई गहिरो रूपमा हृदयङ्गम गर्दै जनताको सार्वभौम इच्छा र आकांक्षालाई आत्मसात् गरेर नै यो यात्रामा होमिएको थिएँ,’ वक्तव्यमा उल्लेख छ ।
हमालले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र जेनजी आन्दोलनका क्रममा जनताले गरेको स्पष्ट संकेत, दिशाबोध तथा आकांक्षालाई सम्मान गर्दै यो जिम्मेवार र सचेत कदम चालेको स्पष्ट पारेका छन् । उनले यो निर्णय कुनै निराशा वा असन्तुष्टिको परिणाम नभई जनता र आफ्नो पुस्ताको भावनालाई स्वीकार गर्दै लिएको बताएका छन् ।
आगामी दिनमा उनी राष्ट्र र जनताको सेवालाई अझ दृढ संकल्प, उत्साह र उच्च ऊर्जाका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । जेनजी आन्दोलनको स्वच्छता, साहस, निष्पक्षता र परिवर्तनकारी स्पिरिटलाई राजनीति तथा राजकाजमा पूर्ण रूपमा व्यवहारिक रूपमा लागू गर्न निरन्तर लड्ने, योगदान दिने र अग्रसर रहने उनको भनाइ छ ।
मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितको रक्षाका लागि, सुशासन, भ्रष्टाचारमुक्त शासन व्यवस्था र तीव्र आर्थिक उन्नतिमार्फत गुणस्तरीय जीवन सुनिश्चित गर्न आफू सदैव अग्रपंक्तिमा रहने उनले उल्लेख गरेका छन् ।
रवि किरण हमालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन तथा सम्पूर्ण पार्टीले आफूप्रति देखाएको असीम विश्वास, स्नेह र साथप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । रवि किरण हमाल जेनजी आन्दोलनबाट उदाएका युवा नेता हुन् । उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।