काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज बिहान बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे भएको बाँडफाँडमा गोलाप्रथा सञ्चालन गरिएको थियो ।
कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म कुल ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको थियो। यस निष्काशनमा मागभन्दा अत्यधिक बढी आवेदन परेपछि धेरै लगानीकर्ताको हात खाली भएको छ ।
क्यापिटलका अनुसार आईपीओका लागि कुल २७ लाख ६८ हजार ७ सय ४३ जनाले आवेदन दिएकोमा २७ लाख ३० हजार ९ सय ८७ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ३ लाख ४७ हजार ४९० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो भने शेयर सूचीकरण प्रक्रिया पूरा भएपछि यो नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी बन्नेछ ।
कम्पनीको संस्थागत संरचनामा सोपान मल्टिपलको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने व्यवस्थापनको नेतृत्व अध्यक्ष डा. अनिल पोखरेल र सीइओ सुमन न्यौपानेले गरिरहेका छन् ।
कम्पनीको सञ्चालक समितिमा भिम लाल पौड्याल, कृति कुमारी महतो, अनिश शाह र आङ दोर्जी लामा रहेका छन् । औषधि उत्पादन क्षेत्रमा सक्रिय यस कम्पनीले आईपीओ निष्काशनमार्फत संकलित पुँजीलाई व्यवसाय विस्तार र उत्पादन क्षमता वृद्धिमा खर्च गर्ने लक्ष्य राखेको छ ।