‘एलडीसी’ स्तरोन्नतिपछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकतामाथि ढकालको जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (LDC) बाट स्तरोन्नति भएपछि पनि विश्व समुदायसँग बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणका लागि आग्रह गरेका छन्।

मंगलबार स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित “Empowering Resilience: Climate-Smart Financing for Sustainable LDC Graduation” कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्।

एलडीसी स्तरोन्नति: अवसर र चुनौती

अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धि भए पनि चुनौतीपूर्ण रहेको बताए। उनले नेपालले एलडीसी स्तरोन्नतिका लागि आवश्यक तीन मापदण्डमध्ये दुई पूरा गरेको भए पनि प्रति व्यक्ति आय स्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गरे।

“नेपालमा धेरै अवसरहरू छन्। देशको ४० हजार मेगावाटभन्दा बढीको जलविद्युत सम्भावना छ। विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यका रूपमा नेपाल परिचित छ। डिजिटल तथा सूचना प्रविधि सेवाहरूमा युवाहरूको सहभागिता बढ्दो छ,” उनले भने, “तर यो सम्भावनालाई वास्तविकतामा परिणत गर्न बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकता छ।”

बढ्दो वित्तीय आवश्यकता र सहयोगको अपेक्षा

नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गरे। “सरकारको राष्ट्रिय अनुकूलन योजनाले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, जुन वार्षिक रूपमा लगभग १.३ अर्ब डलर हो,” उनले भने, “साथै, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न नेपालले प्रत्येक वर्ष जीडीपीको करिब ११ प्रतिशतको वित्तीय अन्तरको सामना गरिरहेको छ।”

उनले नेपालको कर राजस्व कुल ग्राहस्थ उत्पादन (जीडीपी) को २०% बाट १६% मा झरेको तथा हरित र दिगो क्षेत्रमा निजी क्षेत्रको लगानी अझै प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै नेपालका लागि विकास साझेदार, क्षेत्रीय समकक्षी र दीर्घकालीन लगानीकर्ताहरूको सहयोग आवश्यक रहेको बताए।

सकारात्मक प्रगति र लगानीमैत्री वातावरण

यी चुनौतीहरूका बाबजुद पनि नेपालमा थुप्रै सकारात्मक प्रगतिहरू भएको धारणा अध्यक्ष ढकालले राखे। उनले महासंघको पहलमा, नेपाल सरकारले देशको व्यापार र लगानी वातावरण सुधार गर्न ३० भन्दा बढी कानुन संशोधन गरेको तथा द्विपक्षीय लगानी सम्झौताको ढाँचा पनि अनुमोदन गरिएको जानकारी दिँदै यसले लगानीमैत्री वातावरण बन्दै गएको बताए।

एलडीसी स्तरोन्नतिले अन्तर्राष्ट्रिय समर्थनको अन्त्य नभई नयाँ प्रकारको साझेदारीको सुरुवात हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले नेपालजस्ता देशहरूलाई आर्थिक लचिलोपन निर्माण गर्न, स्वच्छ ऊर्जामा लगानी गर्न तथा जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू कम गर्ने दिशामा सहयोग गर्न विश्व समुदायलाई आग्रह गरे। उनले यसका लागि आवश्यक सहयोग र सहकार्यका लागि नेपालको निजी क्षेत्रको छाता संस्थाको तर्फबाट आफूहरू तयार रहेको समेत बताए।

कार्यक्रममा विश्वभरका नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका नेताहरू र विशेषज्ञहरूसँग एलडीसीहरूमा जलवायु लचिलोपन र दिगो विकासका लागि वित्तीय चुनौती र अवसरहरूबारे छलफल भएको थियो।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै