काठमाडौँ । दोधारा चाँदनी (कञ्चनपुर)। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई केवल नाफा कमाउने माध्यमका रूपमा मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४ औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताए। उनका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रकै रहेको छ भने रोजगारी सिर्जना र पूर्वाधार विकासमा पनि यसको भूमिका उल्लेखनीय छ।
ढकालले निजी क्षेत्रलाई कमजोर रूपमा होइन, अर्थतन्त्रको मुख्य आधारका रूपमा बुझ्नुपर्नेमा जोड दिए ।
उनले सुदूरपश्चिम प्रदेशमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै आफूले सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी अघि बढाएको बताए। “सुदूरपश्चिम जहाँ हेरे पनि सम्भावनाले भरिएको क्षेत्र हो,” उनले भने, “यहाँको प्रमुख पर्यटन पूर्वाधार विकासले प्रदेश मात्र होइन, राष्ट्रिय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउनेछ।”
ढकालले बडिमालिका, रामारोशनलगायत धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको उचित विकास र प्रवर्द्धन गर्न सके रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार हुने बताए। साथै, सुदूरपश्चिम भारतका ठूला औद्योगिक क्षेत्र नजिक रहेकाले त्यसको लाभ लिन सकिने उनले उल्लेख गरे।
उनले निजी क्षेत्रका समस्या समाधानका लागि सरकारसँग निरन्तर छलफल र पहल भइरहेको पनि बताएका छन्। इमानदार प्रयास र सहकार्यबाट मात्र अर्थतन्त्रलाई दिगो रूपमा अघि बढाउन सकिने उनको भनाइ थियो।