अब घरबाटै एनओसी: प्रक्रिया पूर्ण रूपमा अनलाइनमा रुपान्तरण

काठमाडौँ ।  वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब घरबाटै लिन सकिने व्यवस्था लागू गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउँदै अनलाइन प्रणालीमार्फत एनओसी उपलब्ध गराउन थालेको हो ।

यसका लागि एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय सँग एपीआईमार्फत अन्तरआवद्ध गरिएको छ । त्रिविसँग वैशाख ४ गते सम्झौता भएको हो भने केयू सँग यसअघि नै सहकार्य सम्पन्न भइसकेको थियो ।

अब विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् र प्रक्रिया पूरा भएपछि एनओसी प्रमाणपत्र आफैं डाउनलोड तथा प्रिन्ट गर्न सक्नेछन् । प्रमाणपत्रमा क्यूआर कोडसमेत समावेश गरिएको छ, जसले यसको डिजिटल प्रमाणीकरण सहज बनाउनेछ ।

यसअघि नागरिकता र शैक्षिक प्रमाणपत्र प्रमाणीकरणका लागि आवेदकलाई भौतिक रूपमा कार्यालय पुग्नुपर्ने अवस्था थियो । तर, गृह मन्त्रालयको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (सीआइएमएस) र राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) प्रणालीसँगको अन्तरआवद्धताले आधारभूत विवरण अनलाइनमै प्रमाणीकरण हुने व्यवस्था गरिएको थियो ।

अब त्रिवि र केयू सँगको प्रत्यक्ष प्रणाली जोडिएपछि स्नातकोत्तर वा सोभन्दा माथिल्लो अध्ययनका लागि आवेदन दिने विद्यार्थीले समेत विश्वविद्यालयको प्रमाणपत्र रुजु गराउन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।  यस्तै, महालेखा नियन्त्रक कार्यालयको ‘रेभिन्यू इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँगको एकीकरणपछि एनओसीसम्बन्धी सबै शुल्क पनि पूर्ण रूपमा अनलाइनमार्फत भुक्तानी हुने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार यस डिजिटल रूपान्तरणले सेवा प्रवाहलाई छिटो, पारदर्शी र झन्झटरहित बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै