‘कुरुम कुरुम’ ब्राण्ड विवादमा हाइलाइफको पक्षमा उद्योग विभागको फैसला

काठमाडौँ ।  चिउरा उत्पादनमा प्रयोग हुँदै आएको ‘कुरुम कुरुम’ ब्राण्डसम्बन्धी विवादमा उद्योग विभागले हाइलाइफको पक्षमा निर्णय सुनाएको छ । विभागले नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि (हाइलाइफ) र सिक्सभिल्ला प्रालि बीचको लामो समयदेखिको व्यापारिक चिन्ह विवाद टुंग्याउँदै सिक्सभिल्लाको दर्ता बदर गरेको हो ।

निर्णयअनुसार अब चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्राण्ड प्रयोग गर्ने अधिकार हाइलाइफलाई मात्र हुनेछ । अन्य उत्पादकले उक्त शब्द प्रयोग गर्न नपाउने र बजारमा पठाइसकिएका त्यस्ता उत्पादनहरू समेत फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उद्योग विभागले दुवै पक्षका प्रमाण, तर्क तथा सर्वोच्च अदालत का नजिरहरूको अध्ययनपछि हाइलाइफको व्यापारिक चिन्ह पहिले नै स्थापित र उपभोक्तामाझ परिचित रहेको निष्कर्ष निकालेको जनाएको छ ।

छानबिनका क्रममा सिक्सभिल्लाले दर्ता गराएको चिन्ह हाइलाइफको लेबल, रङ्ग संयोजन, अक्षर शैली तथा प्रस्तुति सँग अत्यधिक मिल्दोजुल्दो रहेको पाइएको थियो । विभागका अनुसार यस्तो समानताले उपभोक्तामा भ्रम सिर्जना गर्ने र स्थापित ब्राण्डको साखमा असर पुर्‍याउने देखिएको छ ।

“व्यापारिक चिन्हको मुख्य आधार फरक पहिचान हो । स्थापित चिन्हसँग मिल्दोजुल्दो संरचना भएको दर्तालाई वैध मान्न सकिँदैन,” विभागको निर्णयमा उल्लेख छ ।

विभागले व्यापारिक चिन्हलाई औद्योगिक सम्पत्तिको रूपमा व्याख्या गर्दै मौलिक सिर्जनाको संरक्षण गर्नु राज्यको दायित्व भएको स्पष्ट पारेको छ । साथै, उपभोक्तालाई झुक्याउने वा भ्रममा पार्ने उद्देश्यले मिल्दोजुल्दो चिन्ह प्रयोग गर्नु अस्वस्थ प्रतिस्पर्धा मानिने पनि निर्णयमा उल्लेख गरिएको छ ।

यस निर्णयलाई नेपालमा बौद्धिक सम्पत्ति अधिकार संरक्षण र स्वस्थ व्यापारिक प्रतिस्पर्धा प्रवर्द्धनतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै