बुटवल । रुपन्देहीको तिलोत्तमा–१३, चिल्हियामा लुम्बिनी प्रदेशकै पहिलो ‘बियर गार्डेन’ सहितको ‘टाइगर फरेस्ट होटेल’ सञ्चालनमा आएको छ । युवा उद्यमी मिनराज भूसालले करिब ५ बिघा क्षेत्रफलमा एक अर्ब रुपैयाँभन्दा बढीको लगानीमा यो पर्यटकीय रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मुख्य लगानी रहेको यस होटेलका संरचनाहरू मौलिक र प्रकृतिमैत्री छन् । हरियाली जङ्गलसँगै जोडिएको यस रिसोर्टका कोठाहरू पूर्ण रूपमा सल्लाको काठबाट निर्मित (उडन भिल्ला) हुनु र आफ्नै उद्योगको ताजा ‘ड्राफ्ट बियर’ उपलब्ध हुनु यसका मुख्य विशेषता हुन् । सञ्चालक भूसाल प्रख्यात ‘बाह्रसिङ्गे’ बियर उद्योगका सञ्चालक समेत हुन् ।
पाँचतारे होटेल टाइगर प्यालेस रिसोर्टको दक्षिणतर्फ अवस्थित यस रिसोर्टको पहिलो चरणमा बियर गार्डेन, २० वटा उडन भिल्ला, ५० जना क्षमताको हल, चौतारी बार, डान्स क्लब र स्पा सञ्चालनमा आइसकेका छन् ।
अस्ट्रियन इन्जिनियरको डिजाइन
अस्ट्रियन इन्जिनियरले डिजाइन गरेका यी उडन भिल्ला र ड्राफ्ट बियर गार्डेन कुरिनटारपछिको पहिलो भएको भूसालको दाबी छ । करिब दुई सय क्षमताको चिनियाँ रेस्टुरेन्ट र एक हजार जना क्षमताको ब्याङ्क्वेट हल निर्माणको अन्तिम चरणमा रहेकाले आगामी नेपाली नयाँ वर्षमा होटेलको औपचारिक उद्घाटन गर्ने तयारी छ ।
निकट भविष्यमा थप ४० वटा कोठा, पौडी पोखरी (स्विमिङ पुल) र मिनी क्यासिनो निर्माण गरी ‘चारतारे’ स्तरको स्वीकृति लिने प्रक्रियामा रहेको सञ्चालक भूसालले जानकारी दिए ।
“आन्तरिक र भारतीय पर्यटकलाई फरक स्वाद र मौलिक हस्पिटालिटी सेवा दिने उद्देश्यले यो लगानी गरिएको हो,” भूसालले भने, “खुला आकाशमुनि हरियाली वातावरणमा बसेर ताजा बियरको आनन्द लिन पाउनु यस क्षेत्रकै लागि नयाँ अनुभव हुनेछ ।” बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकहरूलाई लक्षित गरी यो रिसोर्ट सञ्चालन गरिएको उनको भनाइ छ ।
व्यवसायिक वातावरण सहज भएमा भविष्यमा थप १५० करोड रुपैयाँ लगानी गरी यसलाई पाँचतारे होटेलमा स्तरोन्नति गर्ने र नेपालकै नमूना ‘वेलनेस र इन्टरटेनमेन्ट टुरिजम स्पट’ बनाउने लक्ष्य राखिएको छ ।
होटेलका जनरल म्यानेजर क्षितिज खनालका अनुसार हाल रिसोर्टमा करिब ७० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले यो होटेल तिलोत्तमाको मात्र नभई लुम्बिनी प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बन्ने अपेक्षा व्यक्त गरे ।