काठमाडौँ । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा आइतबार सम्पन्न भएको छ। सभाले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने र कम्पनीलाई ‘होल्डिङ कम्पनी’ मा लैजाने लगायतका महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।
१०० प्रतिशत हकप्रद शेयर
सभाले आफ्ना शेयरधनीहरूका लागि १:१ को अनुपातमा (१०० प्रतिशत) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो। सभाबाट स्वीकृत भएसँगै अब कम्पनीले हकप्रद निष्कासनको अन्तिम स्वीकृतिका लागि विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिने प्रक्रिया अघि बढाउनेछ।
होल्डिङ कम्पनी र नाम परिवर्तन
युनियन हाइड्रोपावरले अब आफ्नो कार्यक्षेत्र विस्तार गर्दै आफूलाई ‘होल्डिङ कम्पनी’ को रूपमा विकास गर्ने निर्णय गरेको छ। सभाले कम्पनीको नाम परिवर्तन गरी “युनियन हाइड्रोपावर होल्डिङ लिमिटेड” राख्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ।
२३ मेगावाटको आयोजनामा लगानी
हकप्रद शेयरबाट सङ्कलित रकम नयाँ आयोजनामा परिचालन गरिने कम्पनीले जनाएको छ। सभाले २३ मेगावाट क्षमताको ‘आयू मयू खोला’ जलविद्युत् आयोजनामा लगानी गर्ने प्रस्ताव पारित गरेको छ। हाल २५ प्रतिशत निर्माण सम्पन्न भइसकेको यस आयोजनाको प्रतिमेगावाट लागत १७ देखि साढे १७ करोड रुपैयाँ रहने अनुमान गरिएको छ।
ऋणमुक्त र लगानी विविधीकरण
सभामा कम्पनी हाल पूर्ण रूपमा ऋणमुक्त (Zero Loan) भएको जानकारी दिइयो। साथै, आम्दानीको स्रोत विविधीकरण गर्न कम्पनीले अब दोस्रो बजार (शेयर बजार) मा समेत लगानी गर्ने गरी अख्तियारी पाएको छ। कम्पनीको वृद्धिका लागि ल्याइएका यी योजनाहरूलाई शेयरधनीहरूले उत्साहजनक रूपमा समर्थन गरेका थिए।