काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आगामी वैशाख १६ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि शेयर बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले आफ्नो कुल जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत (७ करोड ९० लाख रुपैयाँ) बराबरको ७ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ । सोहीमध्येबाट १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने छ।
लगानीकर्ताका लागि मुख्य जानकारी:
निष्कासन मिति: वैशाख १६ गतेदेखि वैशाख २२ गते (बैंकिङ्ग समय) सम्म। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख ३० गतेसम्म लम्बिनेछ।
किता संख्या: वैदेशिक रोजगारीका लागि ७९ हजार कित्ता (प्रतिकित्ता रु. १००)।
आवेदन सीमा: न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म ।
बिक्री प्रबन्धक: मुक्तिनाथ क्यापिटल लिमिटेड ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सी–आस्वा (C-ASBA) प्रणालीमार्फत यसमा आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।