स्नो रिभर्सको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले वैशाख ७ गते सोमबार आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतमध्ये स्थानीयका लागि छुट्याइएको ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरका ९ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरेको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिएको उक्त सेयर चैत ९ गतेदेखि २३ गतेसम्म बिक्री खुला गरिएको थियो । उक्त सेयरमध्ये आधा (४ लाख ६८ हजार ७५० कित्ता) ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का अति प्रभावित स्थानीयलाई र बाँकी आधा (४ लाख ६८ हजार ७५० कित्ता) अन्य प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको थियो ।

नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । अब कम्पनीले आम लगानीकर्तालाई शेयर निष्काशन गर्ने छ।

लगानीकर्ताले पाए ९७० कित्तासम्म शेयर

आईपीओ बाँडफाँड हुँदा अति प्रभाविततर्फका स्थानीयले अधिकतम ९७० कित्तासम्म शेयर पाएका छन् । यस समूहमा ९३० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । १००० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ९६० कित्ता शेयर पाएका छन् । ति मध्येबाट २१० जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

त्यस्तै प्रभावित समूहतर्फ भने लगानीकर्ताले १८० कित्तासम्म शेयर पाएका छन् । यस समूहमा १७० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । १८० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान १७० कित्ता शेयर पाएका छन् । ति मध्येबाट ११६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ। यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन् । कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तरा बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्।

बाँडफाँडमा सेयर नपरेका वा आंशिक परेको आवेदनकर्ताहरूको रकम वैशाख १० गते बिहीबारदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै