काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेले सर्किट ब्रेकरमा नयाँ नियम लागू गरेको पहिलो कारोबार दिनमा नै बजार ओरालो लागेको हो ।
सोमबार नेप्से १३.१७ अंकले घटेर २८२५.२३ बिन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स ३.२१ अंक, फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक घटेको छ।
सोमबार १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यसदिन कारोबारमा आएका १३ उपसमुहगत परिसूचकमध्ये हाटल तथा पर्यटनमुलक बाहेक सबैमा गिरावट आएको हो । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०१ प्रतिशत बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।
यससँगै दिनभरमा बजारमा कारोबार रकममा समेत २ अर्ब २ करोड ६५ लाख रुपैयाँको उच्च गिरावट आएको छ । सोमबार ३४९ स्क्रिप्टका १ करोड १६ लाख ५३ हजार ३७० कित्ता शेयर ३४९ स्टकको १ लाख १६ हजार ३१० पटकको कारोबारमा ५ अर्ब ५३ करोड ४२ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन शुक्रबारको बजारमा ६ अर्ब ३६ करोड ४५ लाखको कारोबार भएको थियो ।
आज चार कम्पनीको शेयरमूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा नयाँ कम्पनीको रुपमा कारोबारमा आएका सुर्यकुण्ड हाइड्रोपावर, होटल फरेष्ट इन लिमिटेड, पाल्पा सिमेन्ट इन्डष्ट्रिज र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य १५ प्रतिशत हाराहारीमा बढेको हो । यस्तै झापा इनर्जी लिमिटेडको ११.८८ प्रतिशत र रिज लाइन इनर्जी लिमिटेडको शेयरको भाउ पनि १०.९९ प्रतिशतले बढेको छ । यसदिन सुपर खुदी हाइड्रोपावरको ५.३५ प्रपतिशत र भुजुङ्ग हाइड्रोपावरको शेयर मूल्य पनि ३.८१ प्रतिशतले मूल्य बढेको छ ।
उता सोमबारको बजारबाट दोल्ती पावर र एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज होटल फरेष्ट इन लिमिटेडको सर्वाधिक ३६ करोड १ लाख ५९ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ । यस्तै सोलु हाइड्रोपावरको २९ करोड ८१ लाख, नेशनल हाइड्रोपावरको २८ करोड ८८ लाख, आँखुखोला हाइड्रोपावरको २३ करोड ७० लाख र रिलायन्स स्पिनिङ्ग मिल्सको १९ करोड ९ लाख रुपैयाँको धितोपत्र किनबेच भएको छ ।