काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफूमाथि लागेका सेयर लगानी र सम्पत्ति सम्बन्धी विवादबारे औपचारिक स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफ्नो सम्पूर्ण लगानी बैंकिङ प्रणालीमार्फत भएको र कुनै पनि विवरण नलुकाइएको दाबी गरेका हुन् ।
पछिल्ला दिनमा आफ्नो नाम जोडेर आएका समाचारहरू तथ्यभन्दा बढी हल्लामा आधारित रहेको टिप्पणी गर्दै उनले अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको समेत स्पष्ट पारेका छन् ।
दीपक भट्ट समूहसँग जोडिएको बीमामा गृहमन्त्रीको लगानी खुलासा
स्पष्टीकरणका मुख्य बुँदाहरू:
सेयर विवरण नलुकाइएको दाबी:
२५ लाखको सेयर लुकाइएको भन्ने आरोपको खण्डन गर्दै मन्त्री गुरुङले भनेका छन्, “मैले २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै उल्लेख गरेको छु। स्टार र लिबर्टी माइक्रोमा भएको लगानी पनि सोही समूहभित्र पर्छ। यो लुकाउने होइन, वर्गीकरणको विषय मात्र हो।”
लगानीको स्रोत र ऋण:
उनले आफूले मन्त्री हुनुअघि नै २०८० भदौ २९ गतेको लिखित तमसुक र बैंकिङ च्यानलमार्फत ऋण लिएर लगानी गरेको र त्यसको प्रमाण सुरक्षित रहेको दाबी गरेका छन् ।
साझेदारीको विवाद:
विवादित व्यक्तिसँगको साझेदारीबारे प्रस्ट पार्दै उनले भनेका छन्, “एउटै कम्पनीमा सयौँ सेयरधनी हुन्छन्। सेयर किन्नु भनेको सबै व्यक्तिसँग व्यक्तिगत साझेदारी गर्नु होइन।”
स्वार्थको द्वन्द्व (Conflict of Interest):
यस विषयमा गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको र आफूले कुनै हस्तक्षेप नगरेको उनको भनाइ छ ।
अनुसन्धानमा सहयोगः
पार्टीले गर्ने हरेक निर्णय मान्न तयार रहेको र प्रमाणका आधारमा हुने छानबिनलाई सघाउने प्रतिबद्धता गृहमन्त्री गुरुङ्गले व्यक्त गरेका छन्।