सार्वजनिक ऋण २९.३३ खर्ब पुग्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको सार्वजनिक ऋण साढे २ खर्बभन्दा बढीले वृद्धि भएको छ ।अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चैत मसान्तसम्मको प्रतिवेदनअनुसार नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्षको सुरु अर्थात् साउन १ गतेसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म आइपुग्दा विनिमय दरमा भएको नोक्सानीसहित कुल ऋणमा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ थप वृद्धि भएको हो ।

बढेको यस ऋणसँगै अब नेपालको कुल सार्वजनिक ऋण देशको कुल गार्हस्थ्य उत्पादनको झन्डै आधा अर्थात् ४८.०४ प्रतिशत पुगेको छ ।

आन्तरिक भन्दा बाह्य ऋणको भार बढी

कुल सार्वजनिक ऋणमध्ये बाह्य (वैदेशिक) ऋणको हिस्सा बढी छ । १५ खर्ब ४५ अर्ब ६७ करोड रुपैयाँ अर्थात् कुल ऋणको ५२.६९ प्रतिशत र जीडीपीको २५.३१ प्रतिशत हो ।  त्यस्तै, आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब ११ करोड रुपैयाँ छ जुन कुल ऋणको ४७.३१ प्रतिशत र जीडीपीको २२.७३ प्रतिशत हो ।

९ महिनामा लक्ष्यको ५८ प्रतिशत सङ्कलन

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो  । तर, चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८.४५ प्रतिशत अर्थात् ३ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ मात्र ऋण प्राप्ति भएको छ ।

यस अवधिमा सरकारले आन्तरिकतर्फ २ खर्ब ८३ अर्ब ६६ करोड र बाह्यतर्फ ६४ अर्ब ४८ करोड रुपैयाँ ऋण लिएको कार्यालयले जनाएको छ ।

साँवा-ब्याज भुक्तानीमै सकियो साढे २ खर्ब

सरकारले लिएको ऋणमध्ये अधिकांश रकम यसअघि लिइएको ऋणको साँवा र ब्याज भुक्तानीमा ठुलो रकम खर्च भएको छ ।

चालु आर्थिक वर्षमा साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएकोमा चैत मसान्तसम्ममै २ खर्ब ५८ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो कुल विनियोजित बजेटको ६२.८८ प्रतिशत हो ।

कुल भुक्तानी भएको रकममध्ये आन्तरिक ऋणको साँवा–ब्याजवापत २ खर्ब ९ अर्ब ३८ करोड र बाह्य ऋणबापत ४९ अर्ब ६ करोड रुपैयाँ बुझाइएको छ ।

ऋणको साँवा-ब्याज भुक्तानीमा भएको यो खर्च देशको कुल गार्हस्थ्य उत्पादनको ४.२३ प्रतिशत हुन आउँछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै