संयुक्त समितिका गरी १० वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिका गरी १० वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतका १० वटा र दुई वटा संयुक्त समितिका सभापतिका लागि बिहीबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । त्यसमा १० वटा समितिमा एकल उम्मेदवारी परेको छ भने दुई वटा समितिमा दुई–दुई जनाको उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले जानकारी दिए ।

प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. कृष्णहरि बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । सभापतिका लागि रामेछापको मन्थली-१२ का ४५ वर्षीय बुढाथोकीको मात्रै उम्मेदवारी परेको थियो । रास्वपाकै पुष्पा चौधरी प्रस्तावक रहेकी थिइन् भने सुशीला खड्काले समर्थक रहेकी थिइन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा रास्वपाकै सुम्निमा उदास निर्विरोध निर्वाचित भएकी छन् । उनको प्रस्तावकमा सुरेन्द्र चौधरी र समर्थकमा विना गुरुङ रहेका थिए ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रास्वपाकै रहवर अन्सारी निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा सोम शर्मा र समर्थकमा अरविन्द साह रहेका थिए।

प्रतिनिधि सभा अन्तर्गतकै कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा रास्वपा सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छन् । उनको प्रस्तावकमा प्रकाशचन्द्र परियार र समर्थकमा मनिष खनाल रहेका थिए ।

संघीय संसद्को संयुक्त संसदीय सुनुवाई समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनको प्रस्तावकमा मधुकुमार चालागाई र समर्थकमा गजाला शमीम मिकरानी रहेका थिए ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित भएका छन् । उनको प्रस्तावकमा पुरुषोत्तम शुप्रभात यादव र समर्थकमा श्रद्धा कुवर क्षेत्री रहेकी थिइन् ।

त्यस्तै, सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । उनको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका थिए ।

प्रतिनिधि सभाअन्तर्गतकै महिला तथा सामाजिक मामिला समितिको सभापतिमा रास्वपाकी आकृति अवस्था निर्विरोध निर्वाचित भएकी छन् । उनको प्रस्तावकमा दिपककुमार साह र समर्थकमा प्रमिला कुलुजू थिए ।

यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा रास्वपाकै आशिष गजुरेल निर्विरोध निर्वाचित भएका छन् । उनको प्रस्तावकमा प्रदिप विष्ट र समर्थकमा निशा डाँगी रहेकी थिइन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा रास्वपाका अशोककुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् । उनको प्रस्तावकमा समिना मिया र समर्थकमा केपी खनाल रहेका थिए ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि भने निर्वाचन हुने प्रतिनिधि सभाका सचिव राईले बताए । यो समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा (एमाले) का गुरुप्रसाद बरालले उम्मेदवारी दिएका छन् । शेरचनको प्रस्तावकमा डा. लेखजंग थापा र समर्थकमा खुश्बु सरकार श्रेष्ट थिए भने बरालको प्रस्तावकमा सीता थपलिया र समर्थकमा भीमकुमारी बुढा मगर रहेका थिए ।

यस्तै, संसद्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको छ । यसमा रास्वपाका गणेश कार्की र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की मदनकुमारी शाह (गरिमा)ले उम्मेदवारी दिएकी छन् । कार्कीको प्रस्तावकमा रिमा विश्वकर्मा र समर्थकमा सुशान्त वैदिक तथा शाहको प्रस्तावकमा जनकराज गिरी र समर्थकमा पुष्पराज कँडेल रहेका छन् ।

शुक्रबार सम्बन्धित समितिको बैठकमा सभापतिको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गरिने प्रतिनिधि सभाका सचिव राईले बताए । सम्बन्धित समितिमा प्रस्तावकले सभापतिको नाम प्रस्तुत गर्नेछन् भने समर्थकले समर्थन जनाउनेछन् ।

एकल उम्मेदवारी परेका उम्मेदवारलाई निर्विरोध सभापति निर्वाचित भएको घोषणा गरिनेछ । शुक्रबार दिउँसो १ बजे सबै समितिको बैठक बोलाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै