काठमाडौँ । युक्रेनमाथि जारी रूसी आक्रमणविरुद्धको आत्मरक्षामा सघाउन बेलायतले एक लाख २० हजारभन्दा बढी ड्रोन उपलब्ध गराउने ठूलो सहयोग प्याकेज घोषणा गरेको छ ।
यस सहयोगमार्फत युक्रेनको सैन्य क्षमता बलियो बनाउनुका साथै बेलायतभित्रै आर्थिक विकास र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
बेलायतका रक्षा सचिव जोन हेलीले युक्रेन रक्षा सम्पर्क समूहको ३४ औँ बैठकका लागि बर्लिन पुगेका बेला यो प्याकेज सार्वजनिक गरेका हुन् । उक्त बैठकमा जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियस, युक्रेनी रक्षा मन्त्री मिखाइलो फेडोरोभ र नेटो महासचिव मार्क रुटसहित ५० देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहयोग प्याकेजमा लामो दूरीको स्ट्राइक ड्रोन, टोही तथा खुफिया ड्रोन र रसद समर्थन गर्ने ड्रोनहरू समावेश छन्, जसको ढुवानी प्रक्रिया समेत सुरु भइसकेको छ । यी ड्रोनहरूले युक्रेनको प्रतिआक्रमण अभियान र रूसी आक्रमण विरुद्धको रक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
यस लगानीको अधिकांश हिस्सा बेलायती कम्पनीहरू मार्फत परिचालन हुने भएकाले यसले युक्रेनको सार्वभौमिकता सुदृढ पार्नुका साथै बेलायतको घरेलु उद्योगमा रोजगारी बढाउन समेत योगदान पुग्ने देखिएको छ ।
रक्षा सचिव हेलीले यसलाई बेलायतले युक्रेनलाई प्रदान गरेको अहिलेसम्मकै ठूलो ड्रोन सहयोग भएको उल्लेख गर्दै लाखौँ तोपका गोला र हजारौँ हवाई रक्षा मिसाइलहरू समेत उपलब्ध गराउने कुराको पुष्टि गरे ।
यो सहयोग गत महिना बेलायत र युक्रेनबीच भएको नयाँ रक्षा साझेदारी सम्झौताको परिणाम स्वरूप आएको हो । यस सम्झौताको मुख्य उद्देश्य ड्रोन जस्ता कम लागत तर उच्च दक्षता भएका सैन्य प्रविधिहरूको विकासमार्फत विश्वव्यापी रक्षा क्षमतालाई सुदृढ पार्नु रहेको छ ।