काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता आगामी दुई दिनभित्रै हुनसक्ने संकेत गरेका छन् । पछिल्लो समय अमेरिका र इरानबीच बढ्दो कूटनीतिक तिक्ततालाई कम गर्न नयाँ पहल हुन लागेको हो ।
अल जजिराका अनुसार पाकिस्तानको विदेश मन्त्रालय सम्बद्ध स्रोतले यो महत्वपूर्ण वार्ताको आतिथ्यताका लागि पाकिस्तानले प्रस्ताव गरेको जनाएको छ । इस्लामाबादले दुई देशबीचको संवादलाई सहज बनाउन आफ्नो भूमि उपलब्ध गराउन तयार रहेको जनाएको हो ।
यसअघि गत साता भएको छलफलमा भने कुनै ठोस प्रगति हुन सकेको थिएन । तेहरानका अनुसार अमेरिकी प्रतिनिधिमण्डलको ‘अत्यधिक माग’ र ‘राजनैतिक इच्छाशक्तिको अभाव’ का कारण गत साताको वार्ता निष्कर्षमा पुग्न सकेन ।
यता वासिङ्टनले भने इरान अझै पनि सम्झौता गर्न इच्छुक रहेको दाबी गरेको छ । इरानमाथि लगाइएका प्रतिबन्ध र आणविक कार्यक्रमका विषयलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद जारी छ । यदि पाकिस्तानमा वार्ता सफल भएमा यसलाई मध्यपूर्वको सुरक्षा र वैश्विक राजनीतिमा एउटा ठूलो उपलब्धिका रूपमा हेरिनेछ ।