काठमाडौँ । प्रेमिकालाई होटलमा लगेर जबरजस्ती करणी गरेर हत्या गर्ने ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका-९ मल्म घर भई नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्दै आएका ३१ वर्षीय संजय विक छन् । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले २०८० मंसिर ५ गते तनहुँको भिमाद घर भई कास्की पोखरा महानगरपालिका-८ नागढुङ्गा बस्ने ३९ वर्षीया सुकु विकलाई पोखराको एक होटलमा लगि जबरजस्ती करणीपछि हत्या गरेका थिए।
प्रेमिकाको हत्यापछि फरार भएका उनलाई प्रहरीले २०८१ साल साउन १ गते पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीबाट २०८२ जेठ २६ गते उनलाई जन्म कैदको फैसला भएपछि उनी कारागार चलान भएका थिए ।
कारागारमा सजाय भक्तान गरिरहेको अवस्थामा २०८२ भाद्र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी जिल्ला कारागार कास्कीबाट अन्य कैदीसँग भागेका थिए ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो ।
साथै २०८२ चैत २२ गते नवलपरासीपूर्वको देवचुली नगरपालिका १६ टाँडीकोट बस्ने ७५ वर्षीय जिवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई घरेलु हतियारले प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा पनि उनी संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हतियार प्रहार गरेपछि उनले उनीहरूको साथबाट सुनका गरगहना लगायतका धनमाल लुटपाट गरेका थिए। घाइते मध्ये जिवनरामको उपचारको क्रममा मृत्यु भएको थियो ।
उक्त घटनामा समेत संजयको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।