मिलेमतोमा जिउँदा व्यक्तिको मृत्युदर्ता, वडाध्यक्ष र सचिवसहित ४ जना पक्राउ

रुपन्देही । जिउँदो व्यक्तिको मृत्युदर्ता गराइएको घटनामा पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष र सचिव पक्राउ परेका छन् । जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई बुधवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जना पक्राउ परेका हुन् । प्रहरीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र बनाइएको छ ।

यसअघि नै झुटा विवरण पेश गरी मृत्यु दर्ता गराउने मुख्य आरोपी नारायणी पारी सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका थिए । अनुसन्धानका क्रममा अन्सारीले सोही वडाका एक ६६ वर्षीय छिमेकीलाई आफ्नो बुवा भन्दै मृत्युदर्ताका लागि निवेदन दिएको खुलेको छ । तर, ती छिमेकी ज्यूँदै छन् ।

अन्सारीको बुवाको भने २०६० सालमै मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ । मृत्यु दर्ता गराउन वडाध्यक्ष र सचिवको समेत मिलेमतो देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । मृत्यु दर्ता गरिएका व्यक्तिका छोराले गत वर्ष चैत्र महिनामा प्रहरीमा जाहेरी दिएपछि यो प्रकरण बाहिर आएको हो । त्यसपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

मृत्यु दर्ताको मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् । साक्षीका रूपमा हस्ताक्षर गर्ने अन्य सात जना भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । के उद्देश्यका लागि ज्यूँदो व्यक्तिको मृत्यु दर्ता गरिएको हो भन्ने प्रहरीले निर्क्यौल गरिसकेको छैन ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै