काठमाडौँ । तत्कालीन किष्ट बैंक घोटाला प्रकरणमा संलग्न भई फरार रहेका टेलर हेड रोहितलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले श्रेष्ठलाई आज महाराजगन्जबाट नियन्त्रणमा लिएको हो ।
बैंकिङ कसुरमा सर्वोच्च अदालतले २०८० असोज १५ गते श्रेष्ठलाई दुई वर्ष कैद र १३ लाख ३३ हजार ३३३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार रहँदै आएका थिए ।
बैंकको ठमेल शाखामा जुनियर असिष्टेन्ट पदमा कार्यरत रहेका बेला उनले टेलर हेडको जिम्मेवारी सम्हाल्दै नक्कली कागजात, छाप, र कर्मचारीको समेत फर्जी प्रयोग गरी बैंकलाई हानी नोक्सानी पुर्याएको अनुसन्धानबाट खुलेको छ ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा बुझाइएको छ ।