काठमाडौँ । उद्योगी शेखर गोल्छालाई काठमाडौं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई बिहीबार काठमाडौंको नक्सालबाट प्रहरीले पक्राउ गरेको थियो ।
धितोपत्रमा ऐनविपरीत काम गरेको कसुरमा उनलाई पक्राउ गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका उनलाई आगामी सोमबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न बाटो खुलेको छ ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँच प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ र ९८ बमोजिम शेयर बजारमा मिलेमतो गरी भित्री कारोबार र बजार प्रभावित पारेको आरोप छ ।