काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले समीक्षा अवधिसम्म २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२.२२ प्रतिशतको बढोत्तरी हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको थियो ।
२ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अविच्य असञ्चिति अग्राधिकारसहित १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।
बैंकले गत चैत मसान्तसम्ममा २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २१ रुपैयाँ २ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ७४ पैसा बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.२७ गुणा रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशत, खुद सञ्चालन आम्दानी २०.४१ प्रतिशत र सञ्चालन मुनाफा ४७.५० प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा १ अर्ब ४० करोड ४३ लाख रुपैयाँबाट घटेर १ अर्ब ३६ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी बढेको र इन्पेरमेन्ट चार्ज घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
वित्तीय विवरणका मुख्य विशेषताहरू:
ब्याज आम्दानीमा सुधार: बैंकले ५ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २०.४८ प्रतिशत धेरै हो ।
नाफा बढे पनि लाभांश क्षमता घट्यो: बैंकको वितरणयोग्य मुनाफा २.५९ प्रतिशतले घटेर २ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ। यससँगै बैंकको लाभांश क्षमता पनि १८.९२ प्रतिशतबाट झिनो अंकले घटेर १८.५७ प्रतिशत पुगेको छ ।
जगेडा कोष (Reserve): बैंकको जगेडा कोष ७ अर्ब ३४ करोडबाट बढेर ८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
खराब कर्जा (NPL): खराब कर्जा अनुपातमा भने चाप देखिएको छ। अघिल्लो वर्ष ३.४२ प्रतिशत रहेको यस्तो कर्जा बढेर ३.९९ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिशेयर विवरण:
सूचक |
विवरण |
प्रतिशेयर आम्दानी (EPS) |
२२.९२ रुपैयाँ |
प्रतिशेयर नेटवर्थ |
१७९.५५ रुपैयाँ |
मूल्य आम्दानी अनुपात (P/E Ratio) |
१५.२७ गुणा |
तरलता अनुपात |
२७.५५ प्रतिशत |
आर्थिक प्रतिकूलताका बाबजुद बैंकको खुद नाफा र ब्याज आम्दानीमा सन्तोषजनक प्रगति देखिए पनि खराब कर्जा बढ्नु र वितरणयोग्य मुनाफा घट्नुले बैंकमाथि केही दबाब रहेको संकेत गर्दछ ।