काठमाडौँ । नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरेको भनी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै ती आरोपहरूलाई आधारहीन, प्रमाणविहीन र नियोजित दुष्प्रचारको संज्ञा दिँदै कडा खण्डन गरेको हो ।
मुख्य विवादको प्रसंग
बैंकले २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित गृहमन्त्रीको बैंकिङ कारोबारसम्बन्धी समाचारलाई उद्यृत गर्दै स्पष्टीकरण दिएको छ । उक्त समाचारमा कान्तिपुर आफैँले “अनुसन्धानरत निकायबाट प्राप्त विवरण” भनी उल्लेख गरेको तथ्यलाई लुकाएर केही समूहले नियोजित रूपमा बैंकको साख गिराउन भ्रम फैलाएको नबिल बैंकको ठहर छ ।
सुरक्षा र कानुनी प्रक्रिया
नबिल बैंकले ग्राहकका विवरणहरू निम्न अवस्थामा बाहेक कसैलाई उपलब्ध नगराइने स्पष्ट पारेको छ:
ग्राहक स्वयं वा निजको आधिकारिक प्रतिनिधि।
कानुनी प्रक्रिया पुर्याएर आएका नियामक तथा अनुसन्धानकारी निकाय।
“हाम्रो कोर बैंकिङ सिस्टम (CBS) अत्यन्त सुरक्षित छ । कुन विवरण, कसले र कहिले हेर्यो भन्ने कुराको पूर्ण डिजिटल अभिलेख सुरक्षित रहन्छ,” विज्ञप्तिमा भनिएको छ, “अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई विवरण दिने प्रश्नै उठ्दैन ।”
कानुनी कारबाहीको चेतावनी
चार दशक लामो इतिहास बोकेको बैंकले प्रचलित कानुन र आन्तरिक सुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ। तथ्यहीन समाचार सम्प्रेषण गरी बैंकको छविमा आँच पुर्याउने व्यक्ति तथा निकायहरू विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ र अन्य प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही अगाडि बढाउने बैंकले चेतावनी दिएको छ ।
बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता भ्रामक सूचनाको पछि नलाग्न र सुरक्षित बैंकिङ सेवामा विश्वास कायम राख्न आग्रह गरेको छ ।