१५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्नू-अर्थ मन्त्रालय

काठमाडौँ ।  अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाउने भनेको छ ।

अर्थ मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत् यस्तो जानकारी दिएको हो ।

विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्‍त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने सूचनामा उल्लेख छ ।

रामेश्वर खनाल अर्थमन्त्री भएर आएपछि मन्त्रालयले वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीका यस्ता नियम कार्यान्वयनमा कडाइ गरिरहेको छ ।

त्यसै क्रममा नेपाल आउने नेपाली वा विदेशी नागरिकले आफूसँग ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याएका छन् भने भन्सारमा घोषणा गर्नू भनेर अर्थले भनेको छ ।

उक्त सूचनाअनुसार ५ हजार डलर वा त्यस बराबरको रकम भने भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाइनेछ ।

स्रोत खुलेको रकम नगदमै आफ्नो अनुकूल स्थानमा सुरक्षित राख्‍न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको तर स्रोत नखुलेको रकमका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्ने पनि अर्थले जनाएको छ ।

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम राख्न मन्त्रिपरिषदको असोज ५ को निर्णय अनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्न पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

कानुन बमोजिम उपलब्ध गराइएका बाहेक अन्य सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न र असोज १० गते नै गृह र रक्षा मन्त्रालयसँग पत्राचार पनि गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै