काठमाडौँ । नेपाली शेयर बजार लगातार तेस्रो दिन पनि घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक करिब ५८ अंकले घटेको छ। जसले बजारमा निरन्तर दबाब रहेको संकेत गरेको छ ।
बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा पुगेको हो। यसअघि मंगलबार २६.१६ अंक र बुधबार २५.८१ अंकले झरेको थियो।
साताको अन्तिम कारोबार दिन पनि गिरावट देखिएसँगै लगातार घट्दो प्रवृत्ति कायम रह्यो । यो साताको शुक्रबार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहनेछ भने शनिबार र आइतबार नियमित सार्वजनिक विदा रहेकाले अब नियमित कारोबार सोमबार मात्र पुनः खुल्नेछ।
यस दिन सेन्सेटिभ इण्डेक्स सामान्य ०.०७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेका छन् ।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिनको ४ अर्ब ९८ करोडको तुलनामा बिहीबार ३४६ स्टकको ८० हजारभन्दा बढी कारोबारमार्फत ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
बजारमा ९८ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । उपसमूहगत रूपमा १३ मध्ये ११ उपसमूह घटेका छन् भने बैंकिङ र उत्पादन तथा प्रशोधन उपसमूह मात्र सामान्य बढेका छन्। अधिकांश उपसमूहमा गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको शेयर मूल्य सर्वाधिक १२.५७ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १०.३८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहँदा आँखु खोला जलविद्युत र नेशनल हाइड्रोपावर कम्पनी पनि बढी कारोबार भएका कम्पनीमा परेका छन् ।