काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त रहेका दुई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा पदपूर्ति गरेको छ । बैंकको हालै बसेको बैठकले निर्देशकद्वय हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटालाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
नवनियुक्त कार्यकारी निर्देशकहरूमध्ये सापकोटा २०५३ सालमा र न्यौपाने २०५९ सालमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए ।
बढुवा हुनुअघि सापकोटा आन्तरिक लेखापरीक्षण विभाग र न्यौपाने बैंकिङ विभागमा निर्देशकका रूपमा कार्यरत थिए । बढुवा भएसँगै उनीहरूलाई नयाँ जिम्मेवारी तोकिने बैंकले जनाएको छ ।