काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी र पार्टी सुदृढीकरणका लागि ‘जरा अभियान’ घोषणा गर्दै देशभर केन्द्रीय प्रतिनिधि खटाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरण कार्यक्रमपछि आइतबारदेखि नै लागु हुने गरी प्रतिनिधिहरूलाई ७७ वटै जिल्लामा पठाइएको हो ।
अभिमुखीकरणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ मार्फत पार्टीलाई टोल र वडा तहसम्मै मजबुत बनाइने बताए । यो अभियान मुख्यतया चारवटा विशेष प्राथमिकतामा केन्द्रित रहने उनले जानकारी दिए
अभियानका चार मुख्य प्राथमिकताहरू:
१. महाधिवेशनको तयारी: १५औँ महाधिवेशनका लागि आवश्यक सांगठनिक पूर्वतयारी गर्ने।
२. सांगठनिक सुदृढीकरण: क्रियाशील सदस्यता अद्यावधिक गर्ने र नयाँ सदस्यता वितरण गर्ने। यसका लागि आगामी वैशाखसम्मको समयसीमा तोकिएको छ।
३. निर्वाचन समीक्षा: गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा बेहोरेको हारका विषयमा स्थानीय नेता, कार्यकर्ता, आम नागरिक र बुद्धिजीवीहरूसँग व्यापक छलफल तथा समीक्षा गर्ने।
४. सामाजिकीकरण: पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने। वडादेखि केन्द्रसम्मका नेता–कार्यकर्तालाई स्थानीय सामाजिक क्रियाकलापमा सक्रिय सहभागी गराउने।
अभियानअन्तर्गत केन्द्रमा सभापति गगन थापाले बुद्धिजीवीहरूसँग छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम छ भने जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिहरूले स्थानीय तहमा अन्तरक्रिया सञ्चालन गर्नेछन् ।
कांग्रेसले यसअघि नै १५औँ महाधिवेशन आगामी असोज १६–१९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोही कार्यतालिकालाई सफल बनाउन र पार्टीको आधारभूत तह (जरा) लाई बलियो बनाउन यो अभियान सुरु गरिएको महामन्त्री पौडेलले स्पष्ट पारे ।