काठमाडौँ । भदौ २४ गतेको जेनजी आन्दोलनले बैंक तथा वित्तीय संस्थाहरूमा पुर्याएको क्षतिको विवरण नेपाल राष्ट्र बैंकले सङ्कलन गर्न थालेको छ ।
राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितका अनुसार, केन्द्रीय बैंकले आन्तरिक रूपमा क्षतिको विवरण निकाल्दै छ। यसै सन्दर्भमा, गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था र उद्योगी-व्यवसायीका प्रतिनिधिसँग भेटेर क्षतिको जानकारी लिएका छन्। उनले शुक्रबार बैंकर्स संघका प्रतिनिधि र उद्योगीहरूसँग बसेर घटनाले पारेको असरबारे बुझेका हुन्।
बैंकर्स संघले भने भदौ २४ गतेको घटनाबाट ६५ वटा बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरमा क्षति पुगेको विवरण सार्वजनिक गरेको थियो। यसमध्ये, ४० वटा एक्सटेन्सन काउन्टर र २५ वटा शाखा कार्यालयमा क्षति पुगेको संघले जनाएको छ।
संघका अनुसार, आन्दोलनका क्रममा ४५ वटा एटीएममा समेत तोडफोड भएको थियो। भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलन भदौ २३ गते हिंसक बनेपछि त्यसको भोलिपल्ट निजी तथा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको थियो। यस क्रममा सयौँ व्यावसायिक भवनसँगै बैंक तथा वित्तीय संस्थाहरूमा आगजनी र लुटपाट भएको थियो।