र्‍याप ब्याटलदेखि प्रधानमन्त्रीसम्म: बालेन शाह

काठमाडौँ ।  बालेन शाहको राजनीतिक उदयले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको छ। र्‍याप संगीतबाट चिनिएका शाह अहिले राष्ट्रिय नेतृत्वको केन्द्रमा उभिएका छन् ।

सन् १९९० मा जन्मिएका शाह चार दाजुभाइमध्ये कान्छा हुन्। उनका पिता रामनारायण शाह आयुर्वेद चिकित्सक थिए, जसको निधन उनको सक्रिय राजनीतिक यात्राअघि नै भएको थियो । हाल उनी काठमाडौँ विश्वविद्यालयमा पूर्वाधारसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) अध्ययनरत छन् ।

शाहले हिमालयन ह्वाइटहाउस कलेजबाट इन्जिनियरिङ अध्ययन गरेका हुन् भने भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनको प्राविधिक पृष्ठभूमिले राजनीतिप्रति निराश बनेका मतदातालाई आकर्षित गरेको विश्लेषण गरिन्छ ।

सन् २०१३ तिर नेपाली र्‍याप क्षेत्रमा सक्रिय बनेका शाह सामाजिक मुद्दामा केन्द्रित गीतमार्फत युवामाझ लोकप्रिय भएका थिए। उनको र्‍याप शैलीमा प्रणालीप्रतिको आलोचना र परिवर्तनको चाहना स्पष्ट देखिन्थ्यो ।

२०७९ को स्थानीय तह निर्वाचनमा उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै ६१ हजार ७६७ मतसहित ऐतिहासिक जित हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी सिर्जना सिंहले ३८ हजार ३४१ र केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरेका थिए ।

शाहले उम्मेदवारी दिनुभन्दा करिब साढे दुई वर्षअघि देखि नै तयारी थालेका थिए, जसले उनको राजनीतिक यात्रा योजनाबद्ध रहेको संकेत गर्छ ।

यसैबीच, राजनीतिक उतारचढावका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। त्यसपछि अन्तरिम सरकारको नेतृत्वका लागि शाहको नाम अगाडि आए पनि उनले प्रस्ताव अस्वीकार गर्दै सुशीला कार्कीलाई समर्थन गरेका थिए ।

२०८२ माघ ४ मा शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसपछि उनले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा ६८ हजार ३४८ मतसहित विजय हासिल गरे। निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए ।

र्‍याप कलाकारदेखि राष्ट्रिय नेतृत्वको दौडसम्म पुगेका शाहको यात्रा नेपाली राजनीतिमा वैकल्पिक नेतृत्वको उदयका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै