काठमाडौँ । सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशाला भत्काउने नभई लिज नवीकरण गरिने स्पष्ट पारेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले टीयूस्थित क्रिकेट रंगशाला भत्काउने कुरा निराधार रहेको बताए ।
मन्त्री पोखरेलले आजै आफूले त्रिविका उपकुलपतिसहितका पदाधिकारीहरुसँग बैठक गरेको जानकारी दिँदै लिज सम्झौता सकिएको र फेरि अर्को सम्झौता गर्ने स्पष्ट पारे ।
पत्रकारहरुसँग कुरा गर्दै उनले भने– ‘आज बिहान त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग मेरो बैठक थियो । रेक्टर, रजिष्ट्रार पनि हुनुहुन्थ्यो । बसेर सकारात्मक कुरा भएको छ । खाली गराउने त्यस्तो उद्देश्य होइन । लिज सकिएको हुनाले लिज अग्रिमेन्ट फेरि गर्नुपर्ने छ, सकारात्मक कुरा भएको छ । फेरि नयाँ खालको लिज अग्रिमेन्टसहित आउँछ, त्यसमा कुनै पनि समस्या छैन । राज्यको यति धेरै लगानी भएको छ, दुवै राज्यकै निकायहरु हुन्, भत्किने कुरा हुँदैन । सकिएको लिजलाई फेरि अग्रिमेन्ट चाहीँ गर्नुपर्ने हुन्छ ।’