जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नाम अनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ । केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो । हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ”, प्रवक्ता डा. बुढाथोकीले भने ।
विवरणअनुसार गत असोज ३१ गते दुई हजार ५२२, गत माघ ४ गते ७७ र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ ।
प्रवक्ता डा. बुढाथोकीका अनुसार सबैभन्दा धेरै ४५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ । यस्तै, नेपाल पुलिस अस्पतालमा २०३,  राष्ट्रिय ट्रमा सेन्टरमा १९० र त्रिवि शिक्षण अस्पतालमा १०८ जनाको उपचार भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै