काठमाडौँ । सरकारले अर्थ मन्त्रालयअन्तर्गत कार्यरत पाँच सहसचिवलाई एकैपटक सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय अनुमोदन गरेको हो ।
सरुवा निर्णय सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालसँग जोडिएको विषयसँग सम्बन्धित रहेको स्रोतले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ती व्यवसायीमाथि अनुसन्धान गरिरहेको छ ।
निर्णयअनुसार सेवन्तक पोखरेल र महेश बराललाई मधेश प्रदेश पठाइएको छ भने महेश भट्टराईलाई बागमती प्रदेश, मदन दाहाललाई सुदूरपश्चिम प्रदेश र सुशीला अर्याललाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।
सरुवा भएका पोखरेल र भट्टराई आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यमा संलग्न थिए भने दाहाल आन्तरिक राजश्व विभागका महानिर्देशकका रूपमा कार्यरत थिए ।
स्रोतका अनुसार केही सहसचिवहरूले आफ्नो कार्यकालमा भट्ट र अग्रवालसँग सम्बन्धित काममा सहयोग गरेको आरोप लागेको छ। उक्त गतिविधि राज्यको हितविपरीत रहेको ठहर गर्दै सरुवा गरिएको दाबी गरिएको छ ।
दुईतिहाइ बहुमतसहितको सरकारले पहिलोपटक पूर्ण रूपमा बजेट निर्माण गरिरहेको अवस्थामा बजेट प्रक्रियामा संलग्न अधिकारीहरूको एकाएक सरुवाले अर्थ मन्त्रालयभित्र विभिन्न कोणबाट चर्चा सुरु भएको छ ।