काठमाडौँ । आज मिति वि. सं. २०८२ चैत २८ गते शनिबार । ई. सं. २०२६ अप्रिल ११ नेपाल सम्बत ११४६ चौलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल नवमी । चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, सिद्ध योग, तैतिल करण । आज बिहान ५ बजेर ४६ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर २७ मिनेटमा अस्ताउनेछ ।
आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):–
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । धनार्जनको विशेष अवसर मिल्ने सम्भावना छ । सजिलै अरुको मन जित्न सकिएला । अनुकुलताका बाबजुद मनमा खराब विचारहरुले डेरा जमाउन सक्ने र मानसम्मानमा आघात पुग्ने योग रहेकोले सचेत रही व्यवहार गर्नुहोला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):–
नसोचेका कामहरु बन्ने दिन छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुने र विपरीतलिङ्गीबाट सहयोग मिल्ने देखिन्छ । धन आर्जन गर्ने मौका जुर्ला । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्ने सफलता मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । गीत–संगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):–
समय मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका मिल्ला । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । पशुधन र जमिनबाट लाभ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ भने मित्रसुख प्राप्त होला । आरोग्यबल बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):–
वौद्धिक र सृजनात्मक कर्ममा सफलता मिल्ने समय भएपनि सानातिना काम र घरेलु समस्यामा नै समय ब्यतीत हुने देखिन्छ । शुभचिन्तकहरूले तपाईंका कमजोरीप्रति गुनासो गर्न सक्छन् । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने योग रहेकोले विशेष सावधानीको खाँचो छ । स्वास्थ्यमा केही कमजोरी र दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्न सक्छ, ब्यवहारमा सरलता अपनाउनुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):–
आजको दिन पारिवारिक समस्याले मन खिन्न हुने देखिन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । मातापिताको स्वास्थ्यमा केही कमजोरी आउनसक्छ । अनावश्यक ब्यस्तता र खर्च बढ्ने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):–
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानीको बाटो पनि खुल्ने योग छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सुख विलासको माहोलमा दिन बित्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):–
समय केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा थकानको अनुभव हुनेछ भने आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्ने योग छ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न रहला । खर्चवृद्धिले सताउन सक्छ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सावधान रहनुहोला । आलोचनाको शिकार बन्नबाट जोगिन विशेष प्रयत्न गर्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):–
कामको उच्च मूल्याङ्कन र बोलीको कदर हुनेछ समय छ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । सोचेका विशेष योजनामा काम गर्ने वातावरण मिल्ला । दीनदुःखीलाई दिएको सहयोगले मन प्रफुल्ल तुल्याउनेछ । रोकिएको काम बन्न सक्छ, उचित ठाउँमा धन लगानी गर्ने अवसर जुर्ने देखिन्छ । प्रेमभाव उवम् दाम्पत्यसुख बढ्नेछ । आरोग्यबल बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):–
आकस्मिक यात्राको समय छ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सजग रहनुहोला । समाजमा कुरा काट्नेको कमी हुने छैन । सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । नयाँ जिम्मेवारी पाइएला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–
आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा हानी र कर्मचारीले अपजस व्यहोर्नुपर्ने योग छ । यात्रा घातक बन्नसक्ने देखिन्छ, आजको दिन यात्रागत कार्य थाती राख्नु उचित हुनेछ । आरोग्यता रहनेछ । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–
दिन सुखदायी नै रहने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले सकारात्मक प्रभाव पैदा गर्न सक्छ । व्यापारमा लाभ हुनेछ भने समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्ला । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । आयस्रोत बढ्नेछ । मिठो भोजन प्राप्त होला । अनुकूलता वृद्धिले यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):–
समय शुभदायी छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । बिग्रिएका कामहरु बन्नाले उत्साह वृद्धि होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । कार्यगति बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..