इजरायलको हाइफा रिफाइनरीमा मिसाइल आक्रमण, भीषण आगलागी

काठमाडौँ । इजरायलको हाइफास्थित तेल रिफाइनरीमा भीषण आगलागी भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । मिसाइल आक्रमणपछि उत्तरी सहर हाइफाको बाजान तेल रिफाइनरीमा आगो लागेको हो ।

यसअघि मार्च १९ मा इरानले आफ्ना ऊर्जा केन्द्रहरूमा भएका आक्रमणको प्रतिकारस्वरूप उक्त रिफाइनरीलाई लक्षित गर्दै आक्रमण गरेको थियो ।

इजरायलले आफ्ना आक्रमण सैन्य मुख्यालय, प्रहरी चौकी वा सरकारी संरचनामा मात्र केन्द्रित रहेको दाबी गरे पनि आवासीय क्षेत्रसमेत गम्भीर रूपमा प्रभावित भएका छन् । देशभर ९२ हजारभन्दा बढी मानिस यसबाट प्रभावित भएका बताइएको छ ।

पछिल्लो २४ घण्टामा कराज, शिराज, कोम, अबादान र तबरिजमा आक्रमण भएका छन् । तेहराननजिकैका विद्युतीय पूर्वाधारलाई समेत निसाना बनाइएको थियो, जसले गर्दा घण्टौँसम्म विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । सरकारले हाल विद्युत् सेवा पुनः सञ्चालनमा आएको जनाएको छ ।

यी आक्रमणहरूमा ६०० भन्दा बढी विद्यालय तथा शैक्षिक संस्थाहरूका साथै अस्पताल र रेड क्रिसेन्टसँग सम्बन्धित भवनमा पनि क्षति पुगेको छ ।

कुवेतमा भएको आक्रमणमा भारतीय नागरिकको मृत्यु

कतारको विदेश मन्त्रालयले कुवेतको एक शिविर, पावर स्टेसन तथा वाटर प्लान्टलाई निसाना बनाएर इरानले गरेको आक्रमणको निन्दा गरेको छ ।

विदेश मन्त्रालयले ‘एक्स’मार्फत भनेको छ, “मित्र राष्ट्रहरूविरुद्ध इरानले गरेको अनुचित आक्रमण रोक्न आवश्यक छ । कतार कुवेतसँग पूर्ण ऐक्यबद्धता प्रकट गर्दछ र उसको सार्वभौमसत्ता तथा सुरक्षा रक्षाका लागि चालिएका सबै कदमहरूको समर्थन गर्छ ।”

कुवेती अधिकारीहरूका अनुसार, विद्युत् तथा जल मन्त्रालयअन्तर्गतको प्लान्टमा भएको आक्रमणमा एक भारतीय कर्मचारीको मृत्यु भएको छ । उक्त घटनामा परिसरभित्र रहेको एक सेवा भवनमा पनि क्षति पुगेको छ ।

कुवेतको वाटर प्लान्टमा हमला

कुवेतको वाटर प्लान्टमा भएको आक्रमणलाई खाडी क्षेत्रमा भएको सबैभन्दा चिन्ताजनक घटनामध्ये एक मानिएको छ । यो घटना इरानका पावर प्लान्ट तथा अन्य संरचनामाथि आक्रमण भएपछि भएको हो । जसका कारण तेहरान र कराजमा व्यापक रूपमा बिजुली आपूर्ति बन्द भएको थियो ।

इरानले आफूविरुद्ध हुने आक्रमणको बदला लिने चेतावनी बारम्बार दिँदै आएको छ । कुवेतको यो घटनालाई पनि त्यही प्रतिक्रियाको परिणामका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै