काठमाडौँ: अमेरिकाले आफ्नो अर्को शक्तिशाली विमानवाहक युद्धपोत मध्यपूर्व क्षेत्र नजिक तैनाथ गरेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार ‘यूएसएस जर्ज एचडब्लू बुश’ युद्धपोत सेन्टकमको जिम्मेवारी क्षेत्रभित्र प्रवेश गरिसकेको छ।
सेन्टकमले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरेको तस्बिरमा निमिट्ज वर्गको यो विशाल युद्धपोत हिन्द महासागरमा सक्रिय रहेको देखिएको छ। यो नयाँ युद्धपोतले यसअघि नै सो क्षेत्रमा रहेका अन्य जहाजहरूको स्थान लिने हो वा अतिरिक्त शक्तिका रूपमा आएको हो भन्नेबारे अमेरिकी सेनाले आधिकारिक रूपमा केही खुलाएको छैन। यद्यपि, केही सञ्चारमाध्यमहरूले यसलाई पुराना जहाजहरूको ‘रिएन्ट्री’ वा प्रतिस्थापनका रूपमा विश्लेषण गरेका छन्।
यसैबीच, सेन्टकमले विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ ले लाल सागर (Red Sea) क्षेत्रमा आफ्नो अभियान जारी राखेको जनाएको छ। उक्त जहाजले अमेरिकी पाँचौँ बेडाअन्तर्गत सामुद्रिक सुरक्षा र स्थिरताका लागि सहयोग गरिरहेको बताइएको छ।