बग्दाद (एजेन्सी) । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ। उच्च सुरक्षा क्षेत्र ‘ग्रिन जोन’ भित्र रहेको दूतावासमा सोमबार बिहान विस्फोटक पदार्थ जडित ड्रोनले आक्रमण गरेको हो।
इराकी गृह मन्त्रालयका अनुसार आक्रमणबाट दूतावास परिसरमा धुवाँ उडेको देखिए पनि हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।
जवाफी हमला र तनावको पृष्ठभूमि
यो आक्रमण हुनुभन्दा करिब एक घण्टाअघि अमेरिकाले बग्दादको कर्राडास्थित आवासीय क्षेत्रमा हवाई आक्रमण गरेको थियो। उक्त अमेरिकी आक्रमणमा इराकको अर्धसैनिक बल ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (PMF) का एक वरिष्ठ नेतासहित दुई सदस्यको मृत्यु भएको थियो भने पाँच सर्वसाधारण घाइते भएका थिए।
इराकी संयुक्त अपरेसन कमाण्डको ‘सेक्युरिटी मिडिया सेल’ (SMC) ले घना बस्तीमा गरिएको उक्त अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ। उसले यसलाई मानवअधिकार विरोधी र अन्तर्राष्ट्रिय अपराधको संज्ञा दिएको छ।
मध्यपूर्वमा बढ्दो संकट
गत फेब्रुअरी २८ मा इरानमा सुरु भएको अमेरिका-इजरायल संयुक्त सैन्य अपरेसनपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। त्यसयता इरान र उसका क्षेत्रीय सहयोगीहरूले यस क्षेत्रमा रहेका अमेरिकी र इजरायली रणनीतिक स्थलहरूलाई लक्षित गर्दै आएका छन् ।
यसअघि मार्च ७ मा पनि बग्दादस्थित अमेरिकी दूतावासमा रकेट आक्रमण भएको थियो। पछिल्ला दिनहरूमा दर्जनौँ पीएमएफ सदस्यहरू मारिएपछि इराकमा अमेरिका विरोधी भावना र आक्रमणका घटनाहरू तीव्र भएका छन् ।