काठमाडौँ । इराकमा अमेरिकी सेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।अमेरिकी सेनाको केन्द्रीय कमान्ड युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डले यस घटनाबारे जानकारी दिएको हो ।
दुर्घटनामा परेको विमान बोइङ केसी–१३५ स्ट्राटोट्याङ्कर प्रकारको रिफ्युलिङ (इन्धन भर्ने) विमान रहेको बताइएको छ। यो विमान पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको हो ।
युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मार्च १२ का दिन दिउँसो करिब २ बजे उक्त विमान दुर्घटनामा परेको जनाएको छ ।
विमानमा सवार छ जना चालकदलका सदस्यहरूमध्ये चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने अन्य सदस्यहरूको उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ ।
कमान्डका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। यो दुर्घटना शत्रु पक्षको गोलीबारी वा आफ्नै सेनाको गोलीबारीका कारण नभएको कमान्डले जनाएको छ ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायहरूले विस्तृत अनुसन्धान अघि बढाइरहेको बताइएको छ ।