काठमाडौँ । इरानको कोम सहरमा नयाँ सर्वोच्च नेता चयनका लागि बोलाइएको बैठक आसपास हवाई आक्रमण भएको दाबी गरिएको छ। विभिन्न इरानी स्रोतहरूले “विशेषज्ञहरूको सभा” बस्ने क्रममा हमला भएको उल्लेख गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बैठकमा सहभागी केही सदस्य घाइते भएका छन्। तर हताहतीको आधिकारिक विवरण सार्वजनिक भएको छैन। आक्रमणबारे इरान र आक्रमणको आरोप लागेका पक्षबाट स्पष्ट आधिकारिक पुष्टि आउन बाँकी छ ।
इरानको संविधानअनुसार ८८ सदस्यीय विशेषज्ञहरूको सभाले सर्वोच्च नेताको नियुक्ति र निगरानी गर्छ। हाल सर्वोच्च नेता पद रिक्त रहेको र अन्तरिम नेतृत्व परिषद् गठन गरिएको दाबी पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका उच्च तहका नेताहरू मारिएको दाबी गरेका छन्। यद्यपि ती दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
घटनापछि इरानमा सुरक्षा सतर्कता बढाइएको छ। क्षेत्रीय तनाव चुलिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायले अवस्था नजिकबाट नियालिरहेको छ। -एजेन्सी