काठमाडौँ । भारतीय एयरलाइन्सले युद्वका कारण मध्यपूर्वका देशमा रोकिएका हजारौँ यात्रुहरूलाई स्वदेश फर्काउन सीमित व्यावसायिक सेवा पुनः सुरु गर्ने जनाएको छ । लाखौँ दक्षिण एसियाली नागरिक मध्यपूर्वका विभिन्न देशमा रोजगारीको शिलशिलामा बस्दै आएका छन् ।
यसै गरी इन्डिगोले मध्यपूर्वका देशहरूबीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रुपमा सामान्य बनाउँदै लैजाने जनाएको छ । एयर इन्डिया एक्सप्रेसले मंगलबारदेखि ओमानको राजधानी मस्कट जाने उडानहरू पुनः सुरु गर्ने बताएको छ ।
यद्यपि, बहराइन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) जाने उडानहरु भने हालसम्म स्थगित रहेको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यी देशसहित मध्यपूर्वका धेरै नेताहरूसँग फोनवार्ता गरेको जनाउँदै सामाजिक सञ्जालमार्फत भारतीय नागरिकको संरक्षणको लागि सहयोगी भूमिका खेलिदिएकोमा धन्यवाद व्यक्त गरे ।
आक्रमणमा अबुधाबीमा एक जना नेपाली र बहराइन र संयुक्त अरब इमिरेट्समा दुई बंगलादेशीसहित धेरै दक्षिण एसियाली नागरिकको मृत्यु भएको जनाइएको छ । प्रधानमन्त्री मोदीले सोमबार आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगसमेत फोन गरी हालैको घटनाबारे चिन्ता व्यक्त गरेर आफ्ना नागरिकको सुरक्षा प्राथमिकताबारे जानकारी लिएको जनाइएको छ ।