काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले औपचारिक रूपमा पुष्टि गरेका छन् । अमेरिका र इजरायलले शनिबार तेहरानस्थित सर्वोच्च नेताको निवासलाई लक्षित गरी गरेको भीषण हवाई आक्रमणमा ८६ वर्षीय खामेनीको मृत्यु भएको हो ।
इरानी राज्य नियन्त्रित टेलिभिजनले यस घटनाको पुष्टि गर्दै देशभर ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै सामाजिक सञ्जालमार्फत खामेनी मारिएको दाबी गरेका थिए, जसलाई अहिले इरानी अधिकारीहरूले पनि स्विकारेका छन् । ट्रम्पले यस सैन्य अभियानलाई ‘न्याय’ को संज्ञा दिँदै इरानी जनताका लागि यो आफ्नो देश स्वतन्त्र बनाउने ठूलो अवसर भएको टिप्पणी गरेका छन् ।
इजरायली वरिष्ठ अधिकारीहरूले पनि यो आक्रमण सफल भएको र खामेनीको कम्पाउण्ड पूर्ण रूपमा ध्वस्त भएको स्याटेलाइट तस्बिरहरू सार्वजनिक गरेका छन् । यस भीषण आक्रमणमा परी खामेनीको परिवारमा पनि ठूलो क्षति पुगेको छ । इरानी अर्ध-सरकारी सञ्चारमाध्यम ‘फर्स न्यूज’ का अनुसार सर्वोच्च नेताकी छोरी, ज्वाइँ र नातिनीको सोही बमबारीमा परेर मृत्यु भएको छ । सर्वोच्च नेताको निवासलाई लक्षित गरी गरिएको आक्रमणमा उनको परिवारका सदस्यहरू परेका हुन् ।
ययसअघि इरानले भने आफ्ना सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको भन्दै यी दाबीहरूको कडा खण्डन गरेको थियो । इरानी विदेशमन्त्री अब्बास अराघचीले एनबीसी न्यूजसँग कुरा गर्दै खामेनी जीवितै रहेको र सबै उच्च तहका अधिकारीहरू सुरक्षित रहेको स्पष्ट पारेका छन्। “जहाँसम्म मलाई जानकारी छ, खामेनी जिउँदो र स्वस्थ हुनुहुन्छ,” अराघचीले भनेका थिए।
इजरायल र अमेरिकाको संयुक्त सैन्य कारबाहीमा खामेनीको निवास पूर्ण रूपमा तहसनहस भएको दाबी गरिएको छ। सार्वजनिक भएका केही स्याटेलाइट तस्बिरहरूमा पनि उक्त निवासमा ठूलो क्षति पुगेको देखिएको छ ।
यसका साथै दक्षिणी इरानको मिनाबस्थित एक प्राथमिक विद्यालयमा मिसाइल खस्दा कम्तीमा १०८ जनाको मृत्यु भएको छ भने देशभरका २४ प्रान्तमा भएका श्रृङ्खलाबद्ध आक्रमणमा हालसम्म २०१ भन्दा बढी मारिएको र ७४७ जना घाइते भएको रेड क्रिसेन्टको तथ्याङ्क छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको रेड क्रिसेन्टले जनाएको छ । यो घटनालाई यस युद्धको अहिलेसम्मकै भयावह त्रासदीका रूपमा हेरिएको छ।
खामेनीको मृत्युको बदला लिन इरानले इजरायलका प्रमुख सहरहरूमा जवाफी मिसाइल प्रहार सुरु गरेको छ । इरानी आक्रमणका कारण इजरायलको तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको र कम्तीमा ९० जना घाइते भएको रिपोर्ट गरिएको छ ।
हाल इरानमा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध गरिएको छ भने खाडी मुलुकहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेर उच्च सतर्कता अपनाएका छन् । अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक निशानाहरूमा गरेको संयुक्त हवाई आक्रमणका कारण इरानमा ठूलो संख्यामा मानवीय क्षति भएको छ । दुवै देशबीच बढ्दो तनावले मध्यपूर्वमा पूर्णकालीन युद्धको खतरा बढाएको छ।
यसैगरी, इरानले पनि इजरायली क्षेत्रलाई लक्षित गरी जवाफी कारबाही सुरु गरेको छ। इजरायली उद्धार टोलीका अनुसार इरानी आक्रमणका कारण तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने कम्तीमा ९० जना सामान्य घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई इरानी जनता, अमेरिकी नागरिक र विश्वकै लागि ‘न्याय’ भएको टिप्पणी समेत गरेका छन्।