अमेरिका-इरान युद्ध: आठ राष्ट्रले गर्‍यो हवाई क्षेत्र बन्दको घोषणा

काठमाडौँ ।  मध्यपूर्वमा युद्ध चर्किसँगै अन्तर्राष्ट्रिय हवाई यातायात प्रभावित भएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि अहिले त्यसको प्रतिकारस्वरूप इरानले हमला जारी राखेको छ । यसका कारण मध्यपूर्वका धेरै देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गर्न बाध्य भएका छन् । जसको प्रभाव विश्वभर फैलिएको छ ।

शनिबार द्वन्द्व चर्किएपछि कम्तीमा आठ राष्ट्रहरूले आफ्नो हवाई क्षेत्र बन्द घोषणा गरेका छन् । तीमध्ये इरान, इजरायल, इराक, जोर्डन, कतार, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स रहेका छन् ।

सिरियाले पनि इजरायलसँगको सीमावर्ती दक्षिणी क्षेत्रको आकाश १२ घण्टाका लागि आंशिक रूपमा बन्द गरेको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले उल्लेख गरेको छ । थप जोखिम उत्पन्न हुनसक्ने कारणले विश्वभरका विमान कम्पनीहरूले मध्यपूर्वका गन्तव्यहरूतर्फका उडानहरू रद्द वा मोड्न थालेका छन् ।

रुस–युक्रेन युद्धका कारण रुस र युक्रेनको हवाई क्षेत्र अधिकांश विमान कम्पनीहरूका लागि बन्द भएपछि युरोप र एसियाबीचको महत्वपूर्ण उडान मार्गका रूपमा मध्यपूर्वको मार्ग प्रयोग हुँदै आएको थियो ।

रुसको यातायात मन्त्रालयले रूसी वायुसेवाहरूले इरान र इजरायलतर्फका उडानहरू स्थगित गरेको जनाएको छ। एयर इण्डियाले पनि अस्थायी रूपमा सम्पूर्ण मध्यपूर्वी मार्गहरू स्थगत गर्ने घोषणा गरेको छ ।

अमेरिकी हमलापछि इरानले खाडीका कुन-कुन देशमा गर्‍यो जबाफी आक्रमण?

अमेरिका र इसराइलले हमला गरेपछि इरानले खाडी र मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लक्ष्य गरेर जबाफी हमला गरेको छ ।

शनिबार बिहान इसराइलबाट इरानको राजधानी तेहरान लगायतका ठाउँहरूमा हमला भएको थियो। हमलाको केही पछि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकाले हमला गरेको बताएका थिए । जबाफमा इरानले इसराइलमा दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो ।

सञ्चारमाध्यमहरूले इसराइली हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार भएका हतियारहरूलाई नष्ट गरिरहेको भिडिओ पनि प्रसारण गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार इरानले कतारमा रहेको अल उदैद हवाई अड्डा, कुवेतको अल-सालेम हवाई अड्डा, युएईको अल धाफ्रा एयर बेस, बहराइनस्थित नौसेना अड्डालाई निशाना बनाएको छ।

यसबाहेक मध्यपूर्वका बहराइनमा रहेको अमेरिकी नौसेनाको अड्डा र उत्तरी इराकमा रहेको अमेरिकी आधार शिविरलाई पनि लक्ष्य बनाएको भनेर सिएनएनले लेखेको छ। कतारले तीन पटकसम्म इरानबाट आएको मिसाइल सफलतापूर्वक नष्ट गरिएको भनेको छ।

युएईमा हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेपनि मिसाइलको टुक्रा एउटा घरमा खसेको र एक जनाको मृत्यु भएको भनिएको छ । कुवेतका सैनिक प्रमुखले आकाश रक्षा प्रणालीले मिसाइलहरूलाई अवरोध गरेको पुष्टि गरेका छन् । जॉर्डनको सैन्य प्रवक्ताले दुई ब्यालेस्टिक मिसाइल सफलतापूर्वक रोकिएको जानकारी दिएका छन् ।

इरानको जबाफी हमलाबाट अहिलेसम्म ठूलो क्षति र जनधनको विवरण नआएको भनेर सिएनएनले लेखेको छ । घटनाले मध्यपूर्वमा क्षेत्रीय तनाव बढ्ने खतरा निम्त्याएको छ । नेपालले इसराइल, इरान र अन्य देशमा रहेका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै