काठमाडौँ । अमेरिकाले पुनः तीन नेपालीलाई निष्कासन गरेको छ । यो क्रमले गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीहरूमाथि अमेरिकी सरकारको कडा नीति पुनः स्पष्ट पारेको छ । निष्कासनमा पर्ने नेपालीहरू गोपाल ठकुरी, राजकुमार रोका र राहुल थापा क्षेत्री रहेका छन्, जसलाई गत साता नेपाल फिर्ता गरिएको स्रोतले जनाएको छ ।
गोपाल ठकुरी र राजकुमार रोकालाई अमेरिकी अध्यागमन अधिकारीहरूले गैरकानुनी रूपमा बसोबास गरेको आरोपमा पक्राउ गरी एयर इन्डियामार्फत भारत हुँदै नेपाल पठाइएको हो । यस्तै, पर्यटक भिसामा अमेरिका गएका राहुल थापा क्षेत्रीलाई लुकीछिपी बसोबास गरेको आशंकामा पक्राउ गरी सिंगापुर एयरलाइन्समार्फत नेपाल फर्काइएको छ ।
अघिल्लो हप्तामात्रै यमप्रसाद तिवारी, घनश्याम खत्री र भुपाल विकलाई गैरकानुनी बसोबासको आरोपमा निष्कासन गरिएको थियो । त्यस्तै, माघको पहिलो सातामा शेर शाङ्बु शेर्पा र सारुन श्रेष्ठ पनि अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा नेपाल फर्काइएका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिलाई कडा बनाउँदै गैरकानुनी रूपमा अमेरिका बस्दै आएका विदेशी नागरिकहरूलाई धमाधम पक्राउ गरी निष्कासन गरिरहेको छ । अफ्रिकी र अन्य मुलुकका आप्रवासीहरूलाई अमेरिकी सेनाको जहाजमार्फत देश फिर्ता पठाइएका खबरहरू आएका छन् ।
हालै प्रकाशित रिपोर्टअनुसार, अमेरिकी अदालतले १ हजार ३६५ नेपालीलाई देश छोड्न आदेश दिएको छ । नेपालका लागि टेम्पररी प्रोटेक्टेड स्टेटस नवीकरण नभएमा यो संख्या ३ हजारसम्म पुग्ने अनुमान गरिएको छ ।
अमेरिकामा गैरकानुनी रूपमा बस्ने नेपालीहरूको संख्या बढ्दै गइरहे पनि ट्रम्प प्रशासनको कडा नीतिले उनीहरूको जीवनलाई जटिल बनाएको छ। निष्कासनपछि नेपाल फर्किएकाहरूले यहाँ नयाँ जीवन सुरु गर्न आर्थिक र सामाजिक कठिनाइ झेल्नु परेको छ ।
अमेरिकाले गैरकानुनी रूपमा बसिरहेका नेपालीहरूमाथि कारबाही गर्दै निष्कासनको संख्या बढाउँदै लगेको छ । यो अवस्थामा नेपाली आप्रवासीहरू सचेत हुनुका साथै नेपाल सरकारले पनि आफ्नो भूमिका प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।