काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिको प्रक्रिया अघि बढाएको छ । गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ अध्यक्ष चयनका लागि तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित समितिमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा प्राधिकरणका पूर्वअध्यक्ष डा. फत्तेबहादुर केसी रहेका छन् ।
यसअघि सरकारले बर्खास्त गरेका पूर्वअध्यक्ष शरद ओझाले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, सर्वोच्चले उनलाई सो पदका लागि अयोग्य ठहर गरेपछि नयाँ नियुक्ति गर्ने बाटो खुलेको हो ।
अब यो समितिले बीमा क्षेत्रका विज्ञहरूमध्येबाट योग्य उम्मेदवारहरूको नाम सरकारलाई सिफारिस गर्नेछ र सोही आधारमा मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ ।