नेपाल लाइफद्वारा व्यतीत बीमालेख पुनर्जागरणमा विलम्ब शुल्क छुट

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत भएका बीमालेख पुनर्जागरण गर्न विलम्ब शुल्कमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

वर्तमान आर्थिक चुनौतीका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेको अवस्थालाई ध्यानमा राख्दै कम्पनीले बीमितहरूलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ लागू गरेको हो। यस योजना अन्तर्गत मिति २०८३ वैशाख ७ देखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिइनेछ ।

३० दिन अवधिका लागि लागू गरिएको यो योजना कम्पनीले रजत जयन्तीको अवसरमा पहिलो पटक यति ठूलो छुटसहित ल्याएको जनाएको छ। यस अवसरमा व्यतीत बीमालेख भएका बीमितहरूले सहज रूपमा पुनः बीमा नवीकरण गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले सबै बीमित महानुभावहरूलाई यस अवसरको सदुपयोग गर्दै आफ्नो तथा परिवारको भविष्यलाई सुरक्षित बनाउन बीमालेख नवीकरण गर्न अनुरोध गरेको छ ।

देशकै अग्रणी जीवन बीमा कम्पनीका रूपमा रहेको नेपाल लाइफले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ। कम्पनीले ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्दै ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै यो योजना ल्याइएको बताए। उनले बीमालेख व्यतीत हुनु विभिन्न कारण हुन सक्ने भएकाले ग्राहकलाई पुनः बीमा सुरक्षा दायरामा ल्याउन यो योजना उपयोगी हुने उल्लेख गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै