काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । चैत २८ र २९ गते हुने महासंघको ६० औं वार्षिक साधारण सभाका लागि ढकालले सोमबार राजधानीमा एक कार्यक्रमबीच आफ्नो ‘प्यानल’ समेत सार्वजनिक गरेका हुन् ।
ढकाल समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरेको छ । ढकाल हाल वस्तुगत उपाध्यक्ष रहेका छन् । सार्वजनिक गरिएको टिमअनुसार ढकालको प्यानलबाट कार्यसमितिका अन्य पदाधिकारीहरू यसप्रकार छन्:-
वरिष्ठ उपाध्यक्ष: हेमराज ढकाल
उपाध्यक्ष (एसोसिएट): ज्योत्सना श्रेष्ठ
उपाध्यक्ष (जिल्ला नगर): उमेश डालमिया
उपाध्यक्ष (जिल्ला नगर):कल्पना गैरे
उपाध्यक्ष (वस्तुगत): नरेशलाल श्रेष्ठ
महिला उपाध्यक्ष (प्रस्तावित): कमला श्रेष्ठ
महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ आगामी साधारणसभापछि स्वतः अध्यक्ष बन्नेछन् । बाँकी पदहरूका लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ । महासंघको नयाँ विधान अनुसार यसपटक दुईजना जिल्लानगर उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
ढकालले आफ्नो समूहले निजी क्षेत्रको हकहित र उद्योगी व्यवसायीका समस्या समाधानका लागि सशक्त एजेन्डा लिएर चुनावमा जाने बताएका छन् ।
ढकालको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकाल, नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती, पूर्व महासंघका अध्यक्ष शेखर गोल्छा, ब्यवसायी दिपक मल्होत्रा समेत उपस्थिति थिए ।